‘बगान’ मार्फत मैले कथा भन्ने कोसिस गरेको हुँ : सरोज खनाल

चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्गृहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पुर्‍याउनुपर्छ भन्ने लाग्यो,’ अभिनेता खनालले भने, ‘यसलाई कथामार्फत नै दर्शकसामु पुर्‍याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।’

आफूलाई कथावाचक भन्न रूचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन् । उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताए ।

‘छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केबल चरित्र र दृश्यलाई सम्झाएँ,’ अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा ‘स्टार’ का रूपमा चिनिएका कलाकारभन्दा पनि विषयवस्तु र कथा महत्त्वपूर्ण हुनुपर्ने बताए । एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ । आफैँसँग धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायत कलाकारले अभिनय गरेका छन् । कार्कीले यसै चलचित्रबाट अभिनय सुरू गरेकी हुन् ।

‘आफ्नो पात्रलाई जीवन्त बनाउनुभएकी कार्कीको उज्ज्वल भविष्य देखेको छु । म आफ्नो कलाकारिताको अनुभवले पनि उहाँलाई मूल्याङ्कन गर्न सक्छु,’ निर्देशक खनालले भने, ‘उहाँले पात्रलाई न्याय गर्नुभएको छ । यो कलाकारको सकारात्मक पक्ष हो ।’

अभिनेत्री कार्कीले पहिलो चलचित्रमार्फत पाएको प्रतिक्रियाले आगामी दिनमा कलाकारितामा लाग्न सहज हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘मैले पाएको पात्रलाई बाँच्ने कोशिस गरेकी हुँ । आफूभन्दा अग्रज कलाकारसँग काम गर्दाको फाइदा नै उहाँहरूको अनुभवलाई प्रयोग गर्न सकिन्छ । मैले यसलाई अवसरका रूपमा सदुपयोग गरेकी हुँ ।’

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर