सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : उपप्रधानमन्त्री खड्का

'अरू पार्टीलाई गाली गर्नुभन्दा आफ्नो पार्टी बलियो बनाउन लाग्नुपर्छ'

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागिपरेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ ले आज आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सुशासनलाई सरकारले अभियानका साथ अगाडि बढाएको बताएका हुन्। ‘विकास निर्माणमा हुने गरेको ढिलासुस्तीलाई कम गर्न सरकारले काम गरिरहेको छ,’ उनले भने।

उपप्रधानमन्त्री खड्काले सरकारले केही दिनभित्र सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायतका महत्त्वपूर्ण ऐनलाई संसदमा प्रस्तुत गर्न लागेको जनाए। वर्तमान सरकारले सेवाग्राहीलाई कसरी सहज रूपमा सेवा प्रदान गर्न सकिन्छ भनेर लागेको उनको भनाइ थियो।

उनले पार्टीको घोषणापत्र र गठबन्धनले निर्माण गरेको नीति तथा कार्यक्रमका आधारमा सरकारले काम गरिरहेको उल्लेख गरे। नेपालको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान सरकार लागेको उनको भनाइ थियो।

कांग्रेस उपसभापतिसमेत खड्काले समयअनुसार पार्टीलाई परिवर्तन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए। ‘युगअनुसार पार्टीलाई रूपान्तरण गर्न व्यक्ति स्वयं रूपान्तरित हुनु जरूरी छ, अरू पार्टीलाई गाली गर्नुभन्दा आफ्नो पार्टी बलियो बनाउन सबै लाग्नुपर्छ,’ उनले भने।

उनले स्थानीय तह, प्रदेश, क्षेत्र र जिल्ला तहमा जनताबाट आएका सुझावलाई समावेश गरेर पार्टी केन्द्रीय समितिलाई राय तथा सुझाव दिन पार्टीका नेता एवं कार्यकर्तालाई आग्रह गरे। उपसभापति खड्काले पार्टीलाई थप चलायमान बनाउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाउन लागेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर