चाबहिलका नापी अधिकृत राजु पुरीविरूद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा

नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध आइतबार १ करोड ४ लाख ३ हजार ९४१ रूपैयाँ सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले सार्वजनिक सेवा प्रवेश गरेको २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रूपैयाँ हुनुपर्ने हो। तर, उनले २ करोड २४ लाख ८१ हजार ६९० रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

व्ययको तुलनामा उनले प्राप्त गरेको आय रकम १ करोड ४ लाख ३ हजार ९४१ रूपैयाँको वैधानिक स्रोत नखुलेपछि उनीविरूद्ध मुद्दा दर्ता भएको हो।

उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए।

उनविरूद्ध साविक र प्रचलित भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद साथै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी अख्तियारले लिएको छ।

साथै उनले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्ति आफ्नी श्रीमती सृजना गिरीको नाममा राखेको देखिएकाले सो सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि सृजना गिरीलाई समेत प्रतिवादी कायम गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *