राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक-सामाजिक रूपान्तरण जरूरी : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरूरी रहेको बताएका छन्।

समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ। समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका उनले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताए। उनले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताए। उनले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवादको दबदबा रहेकाले त्यसका विरूद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने बताए।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समाज सुधारको प्रमुख आधार नै शिक्षा भएकाले त्यसमा सुधारको जरूरी रहेको बताए। उनले पछिल्ला दिनमा सबैभन्दा बढी समस्यामा परेको र ध्वस्त भएको क्षेत्रका रूपमा शिक्षा नै भएकाले त्यसमा आमूल परिवर्तन जरूरी रहेको बताए।

शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने अध्यक्ष यादवको भनाइ छ। विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएको विकृति अन्त्य गर्नैपर्ने उनले आवश्यकता औँल्याए। उनले समाजवादका लागि गुणस्तरीय शिक्षा जरुरी रहेको उल्लेख गरे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले धेरै समस्या र उल्झनलाई छिचोलेर सङ्घीय शिक्षा विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न लागिएको बताए। उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि सो विधेयकले महत्त्वपूर्ण योगदान गर्ने र शिक्षकको समेत समस्या समाधान हुने बताए।

मन्त्री राईले आफ्नो प्राथमिकता उच्च शिक्षाको छाता विधेयक रहेको बताए। उनले संविधानले मौलिक हकका रूपमा दिएको धेरै विषयवस्तुलाई कार्यान्वयनमा लैजानु जरुरी रहेको र त्यसमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको स्पष्ट पारे। शिक्षामन्त्री राईले समाजवादको आधार तयार पार्नका लागि युवा विद्यार्थीले जोसमा होस राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

नेकपाकी स्थायी समिति सदस्य उमा भुजेलले विभिन्न आन्दोलन र विद्रोहको जगमा अगाडि बढ्न लागेको नेपाली विशेषताको समाजवादलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्। नयाँ ढङ्गले समाजवादलाई अगाडि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै उनले पुँजीवादले समेत त्यसको केही आधार राखेर अगाडि बढिरहेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर