प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यसैगरी कानून, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा (एमाले) ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *