वार्षिकोत्सवको अवसरमा विद्युत प्राधिकरणद्वारा वृक्षरोपण

नेपाल विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत आज वृक्षरोपण गरेको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपणको सुरूवात गरेका थिए ।

सो अवसरमा मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुले पनि वृक्षरोपण गरे । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा रोपिएका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए । मन्त्रालयका सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवालाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाहरूको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताए ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहरूमा कार्यारत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षरोपण गरेका हुन् ।

कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरूवाहरू रोपेका छन् ।

जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रूख काट्ने मात्र होइन रूख बिरूवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्दै आएको छ । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरूले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरूवा रोपेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर