प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्छ : आईजीपी

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रविधिको विकाससँगै अपराधलगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकाले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा महानिरीक्षक कुँवर र नेपाल प्रहरी अस्पताली मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी, कार्य विभागकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्दधनात्मक कार्यक्रमहरू समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयहरूले आफ्नो कार्यशैलीमा सिर्जनशीलता देखाउँदै कार्यसम्पदान सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित भएर काम गर्नुपर्ने बताए। नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीहरूले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धीकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्ण व्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काममा लागि पर्न उनले निर्देशन दिए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षका लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना-२०८० स्वीकृत भएपश्चात् वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *