एक लाख धरौटीमा रिहा भए विराटनगरमा मजदुर कुट्ने आयुष भेटवाल

विराटनगरमा काम सकेर साइकलमा घर फर्कँदै गरेका मजदुरमाथि कुटपिट गर्ने एक युवक एक लाख रूपैयाँ धरौटीमा रिहा भएका छन्।

विराटनगर महानगरपालिका-४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर-४ का आयुष भेटवाल एक लाख रूपैयाँ धरौटीमा छुटेका हुन्।

न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

आइतबार उनीविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन्। मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ।

साइकलमा घर फर्किरहेका बेला विराटनगर-६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए।

गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए ।

साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए। साहले प्रयोग गर्ने साइकल आयुषका भाइ (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरू गएका थिए।

सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो। उनी उपचारपछि घर फर्किएका छन्। घटनापछि फरार रहेका आयुष भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए। उनका भाइ भने अझै फरार छन्।

कारमा सवार भेटवाल दाजुभाइले कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका-४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए। प्रहरीले भेटवाल दाजुभाइसँगै कार चालकविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले कार्कीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो।

आयुषका १७ वर्षीय भाइका विरूद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियाे। गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटवालले प्रहरीसमक्ष बयान गरेका थिए।

कुटपिटकाे भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *