काेशी प्रदेशमा सभामुखकाे राजीनामा गराएर पुनः सरकार गठनकाे तयारीमा गठबन्धन

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। पुनः गठबन्धनको सरकार बनाउन बहुमत पुर्‍याउने प्रयोजनका लागि उनले राजीनामा दिन लागेका हुन्।

गौतमको राजीनामापछि पुनः गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा सभामुख गौतम राजीनामा दिन तयार भएका हुन्।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ। तर, गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ जना मात्रै सांसद छन्।

बहुमत नपुग्ने भएपछि गठबन्धनले सभामुख गौतमको राजीनामा गराउने निर्णय गरेको हो।

प्रदेशसभमा एमालेका ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन्। सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतम पदबाट राजीनामा दिन सहमत भएको माओवादीका प्रदेश सांसदको भनाइ छ।

यसअघि सभामुखसमेतको समर्थनमा कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त भएका थिए। तटस्थ भूमिकामा रहनुपर्ने सभामुखसमेतको समर्थनमा गठित सरकारविरूद्ध एमाले नेता कार्कीले सर्वोच्चमा रित दर्ता गरेका थिए।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई अवैध ठहरसहित परमादेश जारी गरेको थियो।

त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। उनले मुख्यमन्त्रीमा दाबी पेसका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर