पहिरोले अवरूद्ध शहीदमार्ग तीन दिनपछि सञ्चालन

रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ। वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पा थबाङबीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो।

लगातार वर्षाका कारण भूमे गाउँपालिका–७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो।

पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन। प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिइन्।

वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गमा पहिरो झरेर समस्या भइरहेको छ। पहिरो जानेबित्तिकै समयमा जेसिबी र ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको उनले बताए।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार सहिदमार्गमा पहिरो हटाउन सहिदमार्गकै एउटा जेसिबी छ। भूमे गाउँपालिकाको जेसिबी काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ।

मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ। मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएकाले काममा ढिलाइ भएको हो।

सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको र पुथा उत्तरगंगा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उनले बताए।

काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुँदै आएको छ। कतिपय सहायक मार्गहरू भने पहिरोका कारण अवरुद्ध नै भइसकेका र तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी आवागमन भइरहेको छ। साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ। सडकमा झरेको ठूलो ढुंगा फुटाउन सकिएको छैन।

जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुंगा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाइएको र उक्त ब्रेकरले ढुंगा फुटाए आवागमनमा सहज हुने बताए। पहिराका कारण जिल्लास्थित विभिन्न विद्यालयहरुमा पनि क्षति पुगेको प्रहरीले बताएको छ।

रातिको समयमा यात्रा नगर्न अनुरोध

जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले रातिको समयमा यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ। जिल्लास्थित मध्यपहाडी (पुष्पलाल) राजमार्ग, सहिदमार्ग एवं अन्य सहायक मार्गमा कमजोर भूबनोट, भारी वर्षालगायत कारण पहिरो एवम् सुक्खा पहिरो जाने क्रम चलिरहेको छ। यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो।

रातिको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएरमात्र यात्रा गर्न सूचनामा उल्लेख गरिएको छ। साथै जिल्लाभित्र कुनै पनि प्रकारको विपद्जन्य घटना/दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ।

साथै, जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम (पूर्व) को नं ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *