निजी क्षेत्र प्रवर्द्धनका लागि एफएनसीसीआई र अन्तर्राष्ट्रिय वित्त निगमले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अन्तर्राष्ट्रिय वित्त निगमबीच निजी क्षेत्र प्रवर्द्धनका लागि सहकार्य हुने भएकाे छ।

मंगलबार महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच भएकाे छलफलमा सहकार्य गरिने बताइएकाे हाे।

भेटमा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्र सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युतलगायत पूर्वाधार विकास एवं लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए।

कोभिडपछिकाे तीव्र विस्तार व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालको भनाइ छ। निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनले बताए।

नेपालको तीनदिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्र प्रवर्द्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताइन्। पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो।

महासंघले साना उद्यमीका लागि सुरू गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धनलगायत विषय नेतृत्व गर्छिन्।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए।

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणाली सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तु प्रवर्द्धन आवश्यक रहेको बताए।

महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर