कोशी प्रदेश

सभामुखको समर्थनले पदमुक्त भएका उद्धव थापा सभामुखलाई राजीनामा गराएर फेरि मुख्यमन्त्री

विश्वासकाे मत लिन कति सहज?

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त भएका छन्। उनी ४७ सांसदको समर्थनमा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमाेजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गाैतमसमेतकाे समर्थन लिएर मुख्यमन्त्री बन्दा पदमुक्त हुनुपरेका उनी सभामुख गाैतमलाई राजीनामा गराएर उनीसमेतकाे समर्थनमा फेरि मुख्यमन्त्री बनेका हुन्। उनकाे नेतृत्वमा सरकार बनाउन सभामुख गाैतमले मंगलबार नै राजीनामा दिएका थिए।

थापा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसदकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्रीबाट पदमुक्त भएकाे ६ दिनपछि उनी पुनः साे पदमा नियुक्त भएका हुन्।

यसअघि ११ साउनमा सर्वाेच्च अदालतले उनकाे नियुक्ति खारेज गरिदिएकाे थियाे। नियुक्त भएकाे २२ दिनमै उनी पदमुक्त हुन पुगेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति खारेज गरेको थियाे।

मुख्यमन्त्रीमा थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दर्ता गराएको मुद्दामा उक्त फैसला भएकाे थियाे।

उनले  यसअघि सभामुख गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष बहुमत पुगेको दाबी पेस गरेका थिए।

अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रूपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रस्ट व्यवस्था गरेको उल्लेख गर्दै उनकाे नियुक्ति खारेज गरिदिएकाे थियाे।

दाेस्राेपल्ट मुख्यमन्त्री नियुक्त भए पनि उनलाई विश्वासकाे मत पाउन भने कठिन पर्ने देखिन्छ। उनले अबकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने छ।

९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थनले उनी मुख्यमन्त्री बनेका छन्। प्रदेशसभमा विपक्षी दलहरू एमालेका ४० र राप्रपाका ६ जना  सांसद छन्।

गठबन्धनले सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याएजस्तै एमालेले उपसभामुखको राजीनामा गराएको खण्डमा सभा सञ्चालन ज्येष्ठ सदस्यले गर्नुपर्नेछ। ज्येष्ठ सदस्य गठबन्धनकै गयानन्द मण्डल रहनेछन्।

उनले सभा सञ्चालन गरेको अवस्थामा बराबरबाहेक मत दिन नपाउँदा मुख्यमन्त्री थापाले ४६ मत मात्रै पाउने देखिन्छ। उक्त अवस्थालाई चिर्नका लागि राप्रपाको साथ लिनुपर्ने देखिन्छ, जुन कठिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर