माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि, प्रत्यक्ष प्रसारण हुने

सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरू हुँदैछ ।

बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ बैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए ।

बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन भोलि बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *