म्यान्मारकी अपदस्थ नेतृ सुचीलाई सैनिक सरकारले दियाे आंशिक माफी

हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँचवटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यद्यपि उनले अझै १४ अन्य मुद्दा खेप्नुपरेको छ ।

भोलि बुधबार पर्ने आषाढ पूजाका अवसरमा आज सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुचीविरूद्धका पाँचवटा मुद्दालाई मुल्तबीमा राखेर क्षमादान गरिएको हो ।

राज्य प्रशासन परिषद्का अध्यक्षले सुचीलाई माफी दिएकाे सरकारी खबरमा भनिएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानूनी रूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरूद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको काराबासको सजाय तोकिएको छ ।

दुई वर्षअघि नेशनल लिग फर डिमोक्रेसीकी नेतृ सुचीको सरकारलाई अपदस्थ गरेयता म्यान्मारका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ ।

सैनिक शासनविरूद्धको आन्दोलनमा करिब छ हजार सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका विवरण सार्वजनिक भएका छन् । म्यान्मारका स्थानीय निकायले तीन हजार आठ सय जनाभन्दा बढीले ज्यान गुमाएका बताएको छ भने सैनिक अधिकारीले त्यो सङ्ख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन् ।

म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन छ महिना लम्ब्याउँदै आमनिर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आमनिर्वाचन गराउनुपर्छ । म्यान्मार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले आजदेखि छ महिनासम्म सङ्कटकाल थपिएको सोमबार घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर