केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्याे माओवादी केन्द्र

केन्द्रीय कमिटीको आकार बढाउने

नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण भने नगर्ने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटीको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो।

यसैबीच माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ। स्थायी कमिटी बैठकले मौजुदा केन्द्रीय कमिटीलाई समावेशी बनाउने गरी केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको हो।

यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ। विधान संशोधनपछि मात्रै केन्द्रीय कमिटीमा नयाँ सदस्यले सहभागिता जनाउन पाउनेछन्। बैठकपछि प्रवक्ता महराले विधान संशोधन गरेर केन्द्रीय कमिटी विस्तार गरिने निर्णय भएको जानकारी दिए। अहिले माओवादीको केन्द्रीय कमिटी पाँच सय ८३ सदस्यीय छ। यसमा तीन सय ८५ पूर्ण र एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य छन्।

विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय कमिटीमा समेट्ने माओवादीको तयारी छ। ‘को-को ल्याउने भन्ने टुङ्गिएको छैन,’ उनले भने। स्थायी कमिटी बैठकमा आजदेखि राजधानीमा सुरू हुने केन्द्रीय कमिटी बैठकका बारेमा छलफल भएको थियो। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक अवस्थाका बारेमा ‘ब्रिफिङ’ गरेका थिए।

अपराह्न १ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिए।

‘बैठकमा अध्यक्षबाट प्रतिवेदन पेस, वर्तमान राजनीतिक अवस्थाका बारेमा संक्षेपमा सम्बोधन गर्ने काम हुन्छ,’ उनले भने, ‘त्यसपछि सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सुरू हुन्छ।’ सकेसम्म छोटो समयमा आफ्ना धारणा राख्ने र सबैले धारणा राख्न सक्ने वातावरण निर्माण गरिने उनले बताए।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर