झुन्डिएकाे अवस्थामा मृत भेटिए बलिउडका चर्चित कला निर्देशक नितिन देसाई

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगढ जिल्लामा मृत फेला परेका छन्।

एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक दृष्टिले यो आत्महत्याको घटना भएको बताए।

उनको शव रायगढको कर्जतस्थित एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी अधिकारीले बताए।

यो ठाउँ महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ५० किलोमिटर टाढा छ।

ती प्रहरी अधिकारीले घटनाकाे जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेको बताए। प्रहरीका अनुसार उनले मंगलबार राति आत्महत्या गरेका थिए तर यसकाे जानकारी बुधबार बिहान मात्र प्राप्त भएकाे हाे।

एनडी स्टुडियो ४२ एकडमा फैलिएको छ। यसमा सबैभन्दा पहिला आमिर खानको फिल्म ‘मंगल पाण्डे’ काे छायांकन भएकाे थियाे।

प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।’

नितिन देसाई धेरै चर्चित फिल्महरूसँग जोडिएका थिए।

नितिन देसाई ‘लगान’ ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’ र ‘राम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशक थिए।

१९९० को दशकमा रिलिज भएको विधु विनोद चोपडाको फिल्म ‘१९४२ : अ लभ स्टोरी’ को सेट डिजाइन गरेपछि नितिन देसाई चर्चामा आए।

नितिन देसाईले कला निर्देशकको रूपमा चारवटा राष्ट्रिय पुरस्कार जितेका थिए।

उनले ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि अवार्ड पाएका थिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *