प्रस्तावित राजदूतको सुनुवाइ सुरू

सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरू भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्विटजरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ।

समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ। समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन्। बैठकमा स्विटजरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्नेछन्।

सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको थियो। राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले परराष्ट्रमन्त्री एनपी साउदसमक्ष प्रश्न उठाएका थिए।

समितिमा आफ्नो धारणा राख्दै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरूप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने र समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थित रूपमा सम्बोधन गर्दै लैजान पूर्ण प्रतिबद्ध रहेको बताएका थिए।

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनकाे भनाइ थियो। सरकारले परराष्ट्र सेवाका सहसचिव थापालाई न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि, सुवेदीलाई स्विटजरल्यान्ड, भट्टराईलाई फ्रान्स, घनश्याम लम्साललाई कुवेत, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र धनबहादुर ओलीलाई थाइल्यान्डका लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर