माओवादी केन्द्रीय समिति बैठक सुरू

सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको छ : प्रचण्ड

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।

सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिएका हुन्। बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।

केन्द्रीय समिति बैठक अगाडि आज बिहान माओवादीको पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो। बैठकले अध्यक्ष दाहालको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको थियो। यसअघि माओवादीको केन्द्रीय समिति बैठक एक वर्ष अगाडि गत असारमा बसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *