भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने

भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल आउने भएका छन्। उनी काठमाडौंमा आयोजना हुने नेपाल-भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आउने भएका हुन्।

यो भारत-नेपाल संयुक्त आयोगको सातौं बैठक हो। परराष्ट्रमन्त्रीस्तरीय यो संयन्त्रलाई नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्यांकन गर्ने म्यान्डेट दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार जयशंकर आगामी अक्टोबरमा काठमाडौं आउनेछन्, यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन।

बैठकमा दुई देशबीच कनेक्टिभिटी, अर्थतन्त्र र व्यापार, ऊर्जा सहकार्य, जलस्रोतलगायतका सहकार्यका क्षेत्रमा छलफल हुने अपेक्षा गरिएको छ।

हालै बैंककमा सम्पन्न बिमस्टेक रिट्रिटमा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षी जयशंकरसँग साइडलाइन भेटवार्ता गरेका थिए। उक्त भेटमा द्विपक्षीय सहयोगका विषयमा नजिकबाट काम गर्ने विषयमा छलफल भएको थियो।

‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग सुखद् भेट। हाम्रो नेतृत्वले तय गरेका सहयोगका एजेन्डालाई कार्यान्वयन गर्न नजिकबाट काम गर्ने सहमति भएको छ। सम्पर्कमा रहन तत्पर छौं,’ भेटपछि ट्वीट गर्दै जयशंकरले भनेका थिए।

संयुक्त आयोगको छैटौं बैठक जनवरी १५, २०२१ मा नयाँ दिल्लीमा सम्पन्न भएको थियो। उक्त बैठकको जयशंकर र नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त अध्यक्षता गरेका थिए।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा भारतको चार दिने औपचारिक भ्रमण गरेका थिए।

सो क्रममा सम्पन्न भएका तीनवटा ठूला पूर्वाधार आयोजनाको भर्चुअल रूपमा उद्घाटन गरिएको थियो।

यस्तै दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापार सहकार्यमा सम्झौता भएको थियो, जसअन्तर्गत भारतले आगामी १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *