माओवादी केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ केन्द्रीय सदस्यले सो प्रस्तावमाथि आ-आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ। बिहीबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले दाहाल नेतृत्वको सरकारले थालनी गरेका सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका कामको समर्थन गर्दै पार्टी रुपान्तरणमा जोड दिएका थिए।

बैठक यही साउन १७ गतेदेखि सुरू भएको हो। हालसम्म ७४ सदस्यले आ-आफ्नो धारणा राखिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *