चीनका लागि जासुसी गरेको आरोपमा दुई अमेरिकी नौसैनिक पक्राउ

चीनद्वारा अमेरिकी आरोप अस्वीकार

चीनका लागि जासुसी गरेको आरोपमा दुई जना अमेरिकी नौसैनिक पक्राउ परेका छन्।

चीनलाई संवेदनशील सैन्य सूचना उपलब्ध गराएको आरोपमा अमेरिकी नौसेनाका दुई जना नाविक पक्राउ परेका हुन्।

अंगीकृत अमेरिकी नागरिक २२ वर्षीय जिनचाओ वेई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षा जानकारी पठाउने षड्यन्त्र गरेको आरोपमा पक्राउ परेका छन्।

यस्तै संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा २६ वर्षीय पेटी अफिसर वेनहेङ झाओ पक्राउ परेका हुन्।

दुवै जना बुधबार क्यालिफोर्नियामा पक्राउ परेका हुन्। वेई नौसेना बेस सान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ परेका थिए।

अभियोजकहरूले बिहीबार सान डिएगोमा पत्रकार सम्मेलन गरी उनीहरूविरूद्धका आरोपहरू सार्वजनिक गरेका थिए।

उनीहरूका अनुसार उभयचर आक्रमण जहाज यूएसएस एसेक्समा मेसिनिस्ट मेटको रूपमा काम गर्ने वेईले सुरक्षा चुहावट गरेका थिए र जहाजबारेको संवेदनशील जानकारीमा पहुँच राखेका थिए।

सन् २०२२ को फेब्रूअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए।

चिनियाँ एजेन्टले वेई (जसलाई प्याट्रिक वेई पनि भनिन्छ) लाई फोटो, भिडियो, प्राविधिक पुस्तिकाहरू र जहाजको खाकाका लागि हजारौं डलर तिरेको अभियोग छ।

न्याय विभागका अधिकारीहरूले वेईले एजेन्टलाई अमेरिकी मरीनहरूको विवरण पनि दिएको बताएका छन् जो समुद्री प्रशिक्षण अभ्यासमा थिए।

चीनले भने अमेरिकाका यी सबैको आरोप अस्वीकार गरेको छ।

वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ, ‘अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग सम्बन्धित जाससीका मामलाहरू बारम्बार प्रचार गरिरहेका छन्।’

झाओ (जसलाई थोमस झाओ पनि भनिन्छ) लस एन्जलस नजिकै नेभल बेस भेन्चुरा काउन्टीमा काम गर्थे। २०२१ मा उनलाई चिनियाँ एजेन्टले सम्पर्क गरेका थिए जसले लगानी निर्णयहरूका लागि जानकारी खोज्ने अनुसन्धानकर्ताको रूपमा झाओलाई प्रयोग गरेका थिए।

एजेन्टले झाओलाई जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य आधारमा राखिएको राडार प्रणालीका तस्बिर र भिडियोहरू र रेखाचित्र र ब्लुप्रिन्टहरूका लागि झन्डै १५ हजार डलर तिरेको अधिकारीहरूले बताएका छन्।

यदि दोषी ठहर भएमा वेईलाई २० वर्षको जेल सजाय हुनेछ। झाओविरूद्धको आरोपमा भने अधिकतम २० वर्षको सजाय हुनेछ।

दुई जनालाई छुट्टाछुट्टै मुद्दा चलाइएको छ।

सन् २०२३ को सुरूवातमा संयुक्त राज्य अमेरिकामा चिनियाँ ‘जासूस बेलुन’ देखिएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो। यद्यपि, अमेरिकी अधिकारीहरूले पछि भने यसले कुनै पनि संवेदनशील जानकारी संकलन नगरेको बताएका थिए। -बीबीसी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर