सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा अब सीआईबीलाई

संगठित अपराधमा पनि अनुसन्धान अघि बढ्ने

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद एक क्विन्टल तस्करीको सुन प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबारमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सो प्रकरण अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निर्णय भएको हो।

बिहीबार राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यसबारे छलफल गरेका थिए।

छलफलमा सुन कारोबारको प्रकृति ‘संगठित’ देखिएको र संगठित अपराध अनुसन्धानको कार्यक्षेत्र प्रहरीको भएकाले सीआईबीले अनुसन्धान गर्नुपर्ने विषय उठेको थियो।

हाल राजस्व अनुसन्धान विभागले सुन बरामद गरेर यसको अनुसन्धान गरिरहेकामा अब बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन लागिएको हो।

यद्यपि, राजस्व छलीमा राजस्व अनुसन्धान विभागले नै अनुसन्धान जारी राख्नेछ भने संगठित अपराधअन्तर्गतको अनुसन्धान जिम्मा भने सीआईबीलाई सुम्पिन लागिएको हो।

यस प्रकरणमा अहिले भारतीय र चिनियाँ नागरिकसहित १७ जना हिरासतमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर