राहुल गान्धीको सजायमा सर्वोच्चले लगायो रोक, सांसद पद पुनर्बहालीकाे बाटाे खुला

भारतको सर्वोच्च अदालतले मोदी थर मानहानि मुद्दामा कंग्रेस आईका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ।

यस मुुद्दामा सुरत जिल्ला अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। त्यससँगै उनको लोकसभा सांसद पद खारेज भएको थियो।

जिल्लाको आदेशविरूद्ध राहुलले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर, उच्चले पनि जिल्लाको आदेश सदर गरेको थियो।

जिल्लाको आदेश सदर गर्ने उच्चको फैसलाविरूद्ध सर्वोच्च पुगेका राहुलले राहत पाएका हुन्।

सर्वोच्चले सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहालीकाे बाटाे पनि खुलेकाे छ।

उनको याचिकामा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले पर्याप्त कारण र आधारबिना जिल्लाले उनलाई सजाय तोकेको जनाएको छ।

अदालतले राहुललाई कथित टिप्पणी गर्दा सावधान रहन पनि भनेको छ।

सर्वोच्चका वरिष्ठ अधिवक्ता केसी कौशिकले भने, ‘अदालतले सजाय रोकेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त अदालतले यो कुनै एक व्यक्तिको मुद्दा होइन, राहुल गान्धीलाई संसदमा ल्याएका व्यक्तिहरूको अधिकारको हनन भएको छ भनेको छ।’

फैसलापछि कंग्रेसले ट्वीट गर्दै भनेको छ, ‘यो घृणाविरूद्ध प्रेमको जित हो, सत्यमेव जयते।’

फैसलापछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्वीट गर्दै भनेका छन्, ‘राहुल गान्धीविरूद्ध मानहानिको मुद्दामा सजाय रोक्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। यो सत्य र न्यायको जित हो।’

कंग्रेस नेता तारिक अनवरले भनेका छन्, ‘हामीले यो निर्णयको अपेक्षा गरेका थियौं। यो सत्यको जित हो।’

के हाे मुद्दा?

४ वर्षअघि लोकसभा चुनावका क्रममा कर्नाटकको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले अदालतमा मुद्दा हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर