राहुल गान्धीको सांसद पद पुनर्बहाली

‘मोदी थर’ मानहानि मुद्दामा सर्वाेच्च अदालतले सजाय राेकेसँगै भारतीय कंग्रेसका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएकाे छ।

राहुलकाे लाेकसभा सदस्य पद लोकसभा सचिवालयले सोमबार पुनर्बहाली गरेको हाे।

भारतको सर्वोच्च अदालतले गत हप्ता (२०२३ अगस्ट ४) गान्धीको पुनरावेदनमाथि उनीविरूद्धको सजाय र वायनाडबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो।

सर्वोच्चको फैसलाका आधारमा लोकसभा सचिवालयले आज गान्धीको वायनाडबाट लोकसभाका लागि भएको प्रतिनिधित्वलाई पुनर्बहाली गरेको हो।

‘२४ मार्च, २०२३ को अधिसूचना नं. २१/४(३)/२०२३/टीओ (बी) को निरन्तरतामा भारतको सर्वोच्च अदालतले २०२३ अगस्ट ४ मा विशेष अपिल अनुमति (सीआरएल) नम्बर ८६४४/२०२३ मा एक आदेश पारित गरेको छ, जसले केरलाको वायनाड संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने लोकसभा सदस्य राहुल गान्धीको दोषसिद्धिमा रोक लगाएको छ,’ लोकसभा सचिवालयद्वारा जारी आधिकारिक अधिसूचनामा भनिएको छ।

सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै ‘मोदी थर’ टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो।

गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो।

उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई ‘मोदी थर’ को टिप्पणीका कारण सूरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उनकाे सजाय रोक्न अस्वीकार गरेको थियो।

यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर