एमालेले आज पनि दिएन संसद चल्न

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बुधबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ।

एमाले सांसदहरूले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै बैठकमा नाराबाजी र वेल घेराउ गरेका हुन्।

एमाले सांसद सूर्य थापाले सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएकाले संसद बैठक चल्न नसक्ने बताए।

सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक स्थगित भएको छ।

सभामुख घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन्।

एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।

मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

तर, गृहमन्त्रीबाट आफूहरूको माग सम्बोधन हुने जवाफ नआएको भन्दै एमालेले बीचैमा अवरोध गरेपछि बैठक आजका लागि सरेको थियो।

संसदको अवरोध हटाउन सभामुख घिमिरेको पहलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूबीच पटकपटक छलफल भए पनि निचोड निस्कन सकेको छैन।

एमालेले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टल तस्करीको सुन बरामद प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि शंका रहेको भन्दै छानबिन माग गरेको छ।

उसले त्यसका लागि उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने भन्दै संसदमा अवरोध गरिरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *