सुडानमा ६ जना गुप्तचर अधिकारी मारिए

राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा छ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ ।

ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा छजना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ । बुधबार पनि उक्त शहरमा हिंसात्मक झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मङ्गलबार दुवै पक्षले धेरै जना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरेका थिए ।

यसैबीच, सुडान डाक्टर सिन्डिकेटले बुधबार एक विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य केयौँ घाइते भएका जनाएको छ । अल–थवरा क्षेत्रको अलनाव अस्पताललाई शल्यक्रियाकर्मी र आपतकालीन आपूर्तिका सामग्रीका साथै सबै समूहको रगतको आवश्यकता परेको बताएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको सङ्घर्षमा तीन हजारभन्दा बढीको मृत्यु भइसहेको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *