आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र-२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो।

विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्कासन हुनेछ। यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ। विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ। आर्जित ब्याजमा ब्याजकर लाग्नेछ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रूपैयाँ छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।

घटीमा ५० हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई ५० हजार रूपैयाँले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ। यो ऋणपत्रको दोस्रो बजार कारोकार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *