एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेस सांसद सुनिल शर्मा पक्राउप्रति एमालेकाे आपत्ति

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ। उसको अवरोधका कारण प्रतिनिधिसभा बैठक साउन २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए।

लगत्तै सत्तारूढ दलका सांसदहरूले पनि उठेर विरोध जनाए भने होहल्लाकै बीच सांसद साहले धारणा राखिन्। उनले म्याद सकिइसकेको शैक्षिक प्रमाणपत्रको मुद्दामा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाइन्।

‘सांसद शर्माले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’

उनले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्ने पनि बताइन्। त्यसपछि एमाले सांसदहरूले नाराबाजी र वेल घेराउ गरे।

उनीहरूको नाराबाजी र वेल घेराउपछि सभामुख देवराज घिमिरेले सबै कार्यसूची हटाएर बैठक स्थगितको घोषणा गरेका हुन्।

एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएकाे छ। यसअघि आजै उसको अवराेधका कारण राष्ट्रियसभा बैठक पनि साउन २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *