डीएसपी सचिन कर्माचार्य साताैं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सर्वोत्कृष्ट

सशस्त्र प्रहरी बल, नेपालका नायब उपरीक्षक (डीएसपी) सचिन कर्माचार्य सातौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सर्वोत्कृष्ट भएका छन्। प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित कोर्षको दीक्षान्त समारोहमा उनी पुरस्कृत भएका छन्।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा सञ्चालित सो कोर्षमा सर्वोत्कृष्ट भएका डीएसपी कर्माचार्यले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, ‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ प्राप्त गरेका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन प्राध्यापक डा. कुसुम शाक्यले उनलाई सो अवार्ड प्रदान गरे।

सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तरको मान्यता प्राप्त हो।

कार्यक्रममा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरूलाई उक्त कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्ने डा. सोहनकुमार कर्ण, डा.नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्रसमेत प्रदान गरे।

उनले यस प्रकारको शैक्षिक र व्यावसायिक शिक्षाले संगठनमा आबद्ध अधिकृतहरूको व्यक्तित्व विकास गर्नुका साथै सकारात्मक सोच, उदाहरणीय तथा योग्य कमाण्डर निर्माणमा अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले सशस्त्र प्रहरी अधिकृतहरूले कोर्ष समापनपश्चात् व्यावसायिक जीवनमा उपलब्धि हासिल गर्दै सांगठनिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

कार्यक्षेत्रमा परिचालित हुँदा सांगठनिक लक्ष्य प्राप्तिमा नेतृत्वदायी र प्रेरणादायी भूमिका निर्वाह गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न पनि उनले निर्देशन दिए।

समारोहमा त्रिभुवन विश्वविद्यालय डिन प्राध्यापक डा. शाक्यले सुरक्षा चुनौतीहरूलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञान अपरिहार्य रहने उल्लेख गर्दै सशस्त्र प्रहरी अधिकृतहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरिन्।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजले २०७१ साल फागुन २० गते आफ्नो स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रूपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्तिजस्ता विविध विषयहरूबारे प्रशिक्षण गर्दै आइरहेको छ।

कोर्षका प्रशिक्षार्थी अधिकृतहरूलाई कार्यशाला गोष्ठी, विशेषज्ञहरूसँग अन्तर्क्रियालगायतका शैक्षिक र व्यावसायिक गतिविधिहरूमा सहभागी गराउनुका साथै स्वदेश तथा विदेशमा अध्ययन भ्रमणसमेत गराइएको थियो।

१५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक १, सशस्त्र प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायब उपरीक्षक ४ जनाको सहभागिता रहेको थियो।

समारोहमा अनुसन्धानमा आधारित लेख, सुरक्षा, विकास, विपद्, देशको सीमानालगायत अन्य समसामयिक विषयहरू समेटिएको एपीएफ कमाण्ड तथा स्टाफ कलेजको जर्नल अनावरणसमेत गरिएको थियो।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका कमाण्डेन्ट, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका सहसचिव, नेपाली सैनिक प्रतिष्ठान खरिपाटीका कमाण्डेन्टलगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका निमित्त समादेशकलगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर