धर्म

बागलुङ बलेवा कालभैरवमा ऐतिहासिक ‘हरेलो मेला’

बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो ।

वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।

बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । हरेलोको दिन खेतमा धुपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन छ । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसैपछि धुप बालेर खेत तथा तरकारीका झालमा धुपाउने गरिन्छ । हरेक वर्ष भदौको पहिलो मङ्गलबार यसरी गरिने पूजा हरेलो पूजा हो र यसलाई स्थानीय भाषामा हरेलो गर्ने पनि भन्ने गरिएको छ ।

बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने अर्थात् हरेलो गर्ने चलन घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउछन् ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । ‘हरेलो पूजा खासगरी प्रकृति एवं भूमिको पूजा हो । भूमिको पूजा गर्दा प्रकृतिप्रतिको मानिसको प्रेम रहिरहनुका साथै भूमिले नै अन्न उत्पादन गरी मानव एवं चराचर प्राणीको अस्तित्व राख्ने भएकाले यसप्रतिको सम्मान भावसहितको पूजाले स्वतः खेतीपातीको सुरक्षा हुने मान्यता छ ।’

बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ । खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताए । ‘बलेवा क्षेत्रमा न्वाई खाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्’, रिजालले भने, ‘हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवर्द्धनआवश्यक छ ।’

परम्परागतरुपमा मनाइने हरेलो पर्व विस्तारै लोप हुन लागेकाले यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको छ । हरेलोका दिन भैरवस्थानमा पनि पूजा हुने र यहाँ परम्परागत मेला पनि लाग्ने भएकाले यो परम्परालाई निरन्तता दिन यसै दिन मेलाको आयोजना गर्न थालिएको यहाँका स्थानीय एवं बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउछन् ।

यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसङ्ग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवहरुको आयोजना गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले बताए ।

नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अतिन्यून पर्यटकमात्र बागलुङ पुग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै सदस्य पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सव गरी यहाँको स्थानीयताको देशव्यापी प्रचारप्रसार गर्न सकिएमा जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राखे ।

बागलुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जय श्रेष्ठले अधिक सम्भावना बोकेर पनि पछि परेको बागलुङको पर्यटनलाई उजागर गर्न तथा यहाँको स्थानीयताको प्रवर्द्धनगर्न कालभैरवस्थानमा गरिने हरेलो महोत्सवले सहयोग पुग्ने बताए । खासगरी यस्ता मेला महोत्सवहरुमा आफ्ना स्थानीय उत्पादन एवं मौलिकताहरुको पहिचान गराई देशव्यापी बनाउनुपर्ने उनको भनाई छ ।

यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको बागलुङ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कोपिलामणि शर्माले बताए ।

उनले बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल भए पनि यसको महत्व र पौराणिक तथ्यलाई देशव्यापी बनाउन नसकिएकाले हरेलो महोत्सव एवं अन्य प्रचारप्रसारका कामलाई वडाले आगामी दिनमा अघि बढाउने बताए ।

गतवर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘दोस्रोे पटक हामीले मेला आयोजना गर्दैछौँ, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो’, ढकालले भने, ‘मेलामार्फत् बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धन सहज हुन्छ, पहिलो हरेलो मेलाले हामीलाई धेरै सिकाएको छ ।’ यसपटकको मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

मेलामा भजन, पञ्चेबाजा, तीज एवं लोक गीत लगायतको प्रस्तुति र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति मेलामा रहने अध्यक्ष ढकालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापनलागयतका काम सुरु भइसकेका छन् ।

हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू–टावर, मूलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पु¥याउनका लागि पहल गरिने पनि मेला आयोजक समितिले जनाएको छ ।

कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले यहाँ आउने गरेको पर्वतको कुश्मा नगरपालिका–८ की पार्वती पौडेलले बताइन् । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भई नसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।

कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी निरन्तररुपमा आउने गरेका छन् ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि १७ किलोमिटर दुरीमा भैरवस्थान मन्दिर पर्छ । बजारदेखि यहाँ सवारीसाधनमा एकदेखि डेढघन्टामा र पैदल हिँडेर बढीमा तीन घन्टामा पुग्न सकिन्छ ।

साविकका छ वटा गाविसलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छवटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि रहिआएको छ । बलेवामा बाइसेचौबिसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउनुहुन्छ । यसरी यहाँ मन्दिर स्थान भएदेखि नै करिब दुई सय वर्षअघिदेखि चलेका विविध परम्परा र संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर