बंगलादेशबाट नेपाल ल्याएर मानव तस्करी, अपहरण र फिरौती आरोपमा ७ पक्राउ

नेपालकाे नागरिकतासमेत लिएकाे भेटियाे

नेपाललाई ‘ट्रान्जिट’ बनाएर युरोप र एशियाका विभिन्न देशमा पठाउने गिरोहले बंगलादेशीलाई नेपालमै बन्धक बनाएर फिरौती लिन थालेका छन्। नेपालबाट तेस्रो देश जान सहज हुने भन्दै उनीहरूलाई नेपालसम्म ल्याउने र यहाँ बन्धक बनाएर यातना दिँदै परिवारबाट फिरौती लिने गरेको घटना आइतबार सार्वजनिक भएको हो।

प्रहरीले मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउने भन्दै बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएको आरोपमा २ नेपालीसहित ७ जनालाई पक्राउ गरेको हाे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत ५ जना बंगलादेशी र २ नेपालीलाई आइतबार सार्वजनिक गरेको हो।

२ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा थप ६ जना सहित ८ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशिन राई, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली रहेका छन्।

त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहांगिर आलम, बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै गरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ।

राम्रो काम पाइन्छ, धेरै पैसा कमाइ हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई ल्याएर बन्धक बनाएको खुलेको छ ।

पक्राउ परेकाहरूले दुवै जनालाई नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेष्ट हाउसमा लगेर १० लाख बंगलादेशी टाका लिएर पोल्यान्ड पठाइदिने आश्वासन दिएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूले उक्त रकम दिन नमानेपछि यो गिरोहले ह्वाट्स एपमार्फत बंगलादेशस्थित उनीहरूका परिवारलाई फोन गरेर तत्काल पठाउने भए १० लाख टाका पठाउनू, होइन भने जे पनि गर्छौं भनेर धम्की दिएको प्रहरीको भनाइ छ।
परिवारले समेत रकम नपठाएपछि ती बंगलादेशीहरूलाई कुटपिट गरेको, हप्काएको र यातना दिएको भिडियो पठाएर धम्की दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

परिवारले १० लाख टाका पठाइसकेपछि फेरि यो गिरोहले ती दुई बंगलादेशीको परिवारसँग २० लाख टाकाका लागि बार्गेनिङ गरेका थिए।

उनीहरूले आफन्तलाई मारिदिने भन्दै धम्की दिएपछि अर्का बंगलादेशी नागरिक अबु बक सिद्दिकीले काठमाडौंस्थित पर्यटक प्रहरी हुँदै अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका थिए।

उनीहरूले विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरूमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको प्रहरीले जनाएको छ।

यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरूलाई विदेशको प्रक्रियाका लागि केही समय लाग्छ भनी ८–१० दिनमा होटल फेरेर राख्ने गरेको प्रहरीले जनाएको छ।
त्यसपछि उनीहरूले पीडितहरूलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसालगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडियो बनाउने गरेका थिए।

आरोपीहरूले भारतको आधारकार्ड तथा नेपालको नागरिकतासमेत लिने गरेको पाइएको छ।

नेपाली महिलाहरूसँग लिभिङ टुगेदरमा बस्ने तथा विवाह गरेको भनी ती महिलाहरूको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र आवरणका रूपमा विभिन्न पेसा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *