बालुवाटार प्रकरणमा मेरो कुनै बदमासी छैन, छानबिनमा सहयोगी भूमिका रहन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्।

एक साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफूले कुनै बदमामी नगरेको दाबी गरेका हुन्।

उनले भने ‘नबिराउनु नडराउनु। मैले केही पनि बिराएको छैन, कुनै बदमासी गरेको छैन; कुनै अपराध गरेको छैन; कुनै भ्रष्टाचार गरेको छैन; कुनै पनि लेनदेन गरेको छैन। यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन। र, अलिअलि चित्त दुखेको छ।’

उनले अहिले देश अन्योलको अवस्थामा रहेको भन्दै छानबिनमा सहयोग गर्न तयार रहेको बताए।

‘के गरौंला भनेको के पो भयो भने जस्तो देशको स्थिति छ। बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा सम्भवतः मेरो नाम अरूभन्दा अग्रपंक्तिमा पर्दछ । त्यस्तो केही बदमासी केही भएको छ भने त्यसको छानबिन होस्, त्यसमा मेरो तर्फबाट के सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहनेछ,’ उनले भने।

उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै गुनासो गरे।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो। म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो। माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन, कुनै गल्ती, अपराध, बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो, म गएँ,’ उनले भने।

उनले नेपाली राजनीतिमा निकै नै जटिलता देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताए।

जारी संसद अवरोधले जनतामा धेरै नकरात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर