३ दिनदेखि अवरूद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

३ दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीवार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रवार र शनिवार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

आइतवार बिहानैदेखि बागलुङ नगरपालिकाको मसिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि ३ दिनदेखि नै अवरुद्ध भएको थियो ।

पहिरोले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो । सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौं नागरिक प्रभावित भएको उनी बताउँछन् ।

उपप्रमुख खड्काले भने, ‘पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू–भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौं पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन् ।’

दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । ३ दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरू ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर