कुटपिटबाट कैदीबन्दीको मृत्यु, प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता : छानबिन समिति

सङ्खुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका हुन् ।

यही साउन २४ गते बिहान भएको सो घटनापछि गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो ।

कारागारमा रहेका ‘सीसीटीभी फुटेज’ को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए ।

अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले भोलि (शुक्रबार) उक्त घटनाको प्रतिवेदन गृह मन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले बताए । उनका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ ।

मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका छन् । घटना लगत्तै अनुसन्धानका लागि उक्त टोली गत शुक्रबार सङ्खुवासभा गएको थियो ।

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि सङ्खुवासभा गएको थियो । पच्चीस जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर