पाइपलाइनबाट घर-घरमा ग्यास

कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन्। दाउरामा खाना पकाउँदै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन।

तर घरमा पाइप लाइनबाट ग्यास आउन थालेपछि वर्षौंदेखि दाउराबाट खाना बनिरहेको उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ।

जंगलबाट दाउरा ल्याउनुपर्ने दुःखबाट मुक्ति पाउन चाहन्थे तर एलपिजी ग्यास किन्न उनको आर्थिक हैसियतले थेग्दैनथ्यो। अहिले घरमै ग्यासको पाइप पुगेपछि उनको सपना पूरा भएको छ।

टीकापुर नगरपालिका-५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि भुवनको मात्रै होइन धेरैको घरमा पाइपबाट ग्यास पुगेको छ।

पाइपबाट ग्यास पुगेपछि आफ्नो दुःखका दिन सकिएको स्थानीय धनादेवी चौधरी बताउँछिन्। धुँवा र भाँडाकुँडा कालो हुने समस्याबाट मुक्ति पाएकी छिन्।

‘अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ,’ उनले भनिन्।

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन। अहिले दैनिक चार घन्टा ग्यास आउने स्थानीय फरहरी थारू बताउँछन्।

‘कहिलेकाहीँ समयमा ग्यास आउँदैन, कहिले पकाउँदा पकाउँदै जान्छ,’ उनी भन्छिन्। ग्यास नियमित भइदिए दाउरा बाल्ने झन्झटबाट सदाका लागि छुटकारा पाइने स्थानीय बताउँछन्।

ग्यास प्लान्ट दुई महिनादेखि परीक्षणमा चलिरहेको छ। यस अविधमा उपभोक्ताले शुल्क पनि तिर्नुपरेको छैन। परीक्षण सफल भएर स्थायी भयो भने स्थानीयलाई दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताउँछिन्।

‘दीर्घकालीन बन्ने/नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ,’ उनी भन्छन्।

२ सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ।

ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ । ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । एक करोड ६० लाख लागतमा सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो।

गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ ।

‘चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ,’ सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भने, ‘गोबर पर्याप्त छैन । आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ।’

गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ। मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउँछन्।

मल बिक्रीबाट पनि उनले आम्दानी गरिरहेका छन्। त्यसो हुँदा स्थानीयलाई सहुलियतमा ग्यास दिन सकिने बुढाक्षेत्री बताउँछन्।

‘नगरपालिकाले एक वर्षका लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ। त्यो अवधिमा गौशालालाई व्यवसायिक गौशालाका रूपमा स्थापति गर्छौं,’ उनले भने।

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताएका छन्।

नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट सङ्कलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ। त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए।

गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ।

गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *