संगठनात्मक यथास्थितिवादलाई नभत्काए माओवादी विसर्जन हुन्छ : उपमहासचिव पोखरेल

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले अहिलेकै ढंगले अघि बढ्ने हो भने माओवादी केन्द्रको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् ।

शनिबार रामवृक्ष यादवको २९औं स्मृतिदिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उपमहासचिव पोखरेलले माओवादी कमजोर र ओरालो लागेको भन्दै संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘यदि संगठनात्मकवादको यथास्थितिलाई नभत्काउने हो भने हाम्रो पार्टी विसर्जन हुन्छ र यो इतिहासको विषय बन्छ । यदि यसको विघटनको प्रकृयालाई रोक्ने हो भने संगठनात्मक क्षेत्रको यथास्थितिवादलाई भत्काउनुपर्छ ।’

उनले संगठनात्मकवादको यथास्थितिलाई भत्काउन पहिला विचारको विकास गर्नुपर्ने, विधि र पद्धतिमा नचलेको पार्टीलाई नीति र नियममा चलाउनुपर्ने, आफ्नो वर्ग र आधारभूत समुदायलाई पक्रिनुपर्ने वर्तमानको आवश्यकता भएको बताए । साथै उनले भ्रष्टिकरण र साँस्कृतिक प्रदूषणको विरुद्धमा पार्टीभित्रै संघर्ष नगरेको र जुनवर्गको लागि संघर्ष गरेर आएको हो, त्यसैलाई माओवादीले छोडेकोले पार्टी कमजोर अवस्थामा पुगेको तर्क गरे ।

त्यस्तै, उपमहासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वले आफ्नो दायित्व पूरा नगरेकै कारण नयाँ राजनीतिक पार्टीहरु उदाएको पनि धारणा राखे । उनले पार्टी सुदृढिकरणको लागि आठौं महाधिवेशनबाटै प्रयास गरेको भन्दै त्यो महाधिवेशनको डकुमेन्टसम्म नेताकार्यकर्ताले नपढेको गुनासाे गरे ।

‘हात उठाउनुहोस् त आठौं महाधिवेशनको डकुमेन्ट कतिले पढ्नुभएको छ ? यो यथार्थता हो हाम्रो । तपाईंहरु कसैका पनिहात उठेका छैनन् । महाधिवेशनले पास गरेको डकुमेन्ट हाम्रो साथमा छैन, जसलाई हामीले बाटो देखाएर हिँड्नपर्ने हो,त्यो चिज नै हामीले पढेका छैनौँ । हाम्रो पार्टी नविग्रेर कस्को पार्टी विग्रिनु त ! अहिले बलेसिमा पानीका फोका जस्ता नयाँ पार्टी देखापरेका छन् । तपाईं हामीले आफ्नो दायित्व निर्वाह नगरेको कारणले गर्दा हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *