सुन तस्करीमा संलग्नहरूले कसको सहयोगमा बनाए नेपाली नागरिकता र राहदानी?

पक्राउ परेकाहरूको चिनियाँ दूतावासका अधिकारीसँग सम्पर्क

नेपालमा विभिन्न अपराधमा संलग्न रहेका चिनियाँ गिरोहले नेपालको नागरिकता, राहदानी र भारतीय आधारकार्ड बनाएको खुलेको छ । उनीहरुले यही नक्कली परिचयपत्रका आधारमा अपराध र चीन सरकारका लागि सुराकीसमेत गर्ने गरेको खुलासा भएको छ ।

पर्दाफास विश्वस्त स्रोतका अनुसार यसरी नक्कली नागरिकता, राहदानी र भारतीय आधारकार्ड बनाएका गिरोहका सदस्यहरु नेपाल र भारतस्थित चिनियाँ दूतावासका केही अधिकारीहरुसँग नियमित सम्पर्कमा रहेका थिए । स्रोतका अनुसार समय अनुकुल सुरक्षा निकायका वरिष्ठ अधिकारी, राजनीतिक दलका वरिष्ठ नेता र पत्रकारसँग समेत निकट पहुँच बनाएका गिरोहका सदस्यले त्यही आधारमा नेपाल र भारतबाट आफ्नो नक्कली आधिकारीक परिचयपत्र बनाएको खुलेको हो ।

सुन तस्करी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका हिरासतमा रहेका ६ जना चिनियाँ नागरिकसँग यस्ता नक्कली परिचयपत्र बरामद भएको हो ।

पर्दाफासलाई प्राप्त विवरण अनुसार पक्राउ परेका डिंग सेग फा (सौटेन)को चिनियाँ राहदानी नम्बर इइ ७२९५३७९ हाे । उनको राहदानी ३० नोभेम्बर २०१८ मा चीनबाट जारी भएको छ । तर, उनी नेपालमा काभ्रेका स्थायी नागरिक राम लामाका हैसियतमा बसिरहेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको उनको नागरिकता नम्बर ३०३०४१–२२५४ र राहदानी नम्बर १२५८९४५७ रहेको छ । उनलाई २३ डिसेम्बर २०२१ मा राहदानी जारी भएको थियो ।

यस्तै अर्का चिनियाँ नागरिक ली वेन्त सोङ नेपालमा छिरिङ लामा बनेर नेपाली नागरिकता र राहदानी सहित बसिरहेका थिए । उनलाई काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले नागरिकता र राहदानी विभागले राहदानी उपलब्ध गराएको थियो । चीनको न्यू ताइपेई सिटीका नागरिक सोङको नेपाली नागरिकता नम्बर २७३२०६४४९२१ र राहदानी नम्बर १२६२३०४५ रहेको छ ।

ली नेङ्काई चीनको युआन शहरका बासिन्दा हुन् । उनको चीनको राहदानी नम्बर इइ७२९५२२२ हो । तर, नेपालमा उनी सोनाम लामा बनेका थिए । उनलाई काभ्रे जिप्रकाले उपलब्ध गराएको नागरिकता नम्बर ३०३०४२–२२५४ र राहदानी नम्बर १२५८९४५६ रहेको छ ।

यस्तै पक्राउ परेका याओ पोचेङसँग भारतीय आधार कार्ड बरामद भएको छ । उनको चीनको राहदानी नम्बर इबी ०५६३०२२ रहेको छ । तर उनका साथबाट बरामद आधार कार्ड अनुसार उनी एलेक्स न्युमई एच हुन् । उनको आधार कार्ड नम्बर ८८६९६२७१९६६९३४५ पी हो । ठेगाना सेक्टर ४२ गल्फ कोर्स रोड, चक्रपुर(७४) गुरुग्राम उल्लेख छ ।

यस्तै टासी भन्ने थुप्तेन छिरिङ्ग जसको भारतीय भारतिय आधारकार्ड ४०८ ३०२ ७४४ २४८ रहेको छ । उनी तिब्बती मूलका चिनियाँ नागरिक भएको यसअघि खुलिसकेको छ । उनको भारतीय ठेगाना थुप्टिङ यान्टिङ हाउस नम्बर–१५८ ब्लक नम्बर– ७ मञ्जुका टिल्ला, सिभिललाइन्स, उत्तर दिल्ली रहेको छ ।

सुन तस्करी प्रकरणदेखि नेपालमा चिनियाँ संलग्न भएका सबैजसो घटनामा बिचौलियादेखि मुख्य भुमिकामा देखिएका दावा छिरिङ्ग चिनियाँ मूलका बेल्जियम नागरिक हुन् । उनीसँग बरामद नेपाली नागरिकता अनुसार नाप्रन– ३०–०१–७४–११८६८ र जारी मिति २०७४ पुस २० रहेको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता उपलब्ध गराएको हो ।

हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता र भारतीय आधार कार्ड फेला परेपछि त्यस सम्बन्धमा समेत सीआईबीले अनुसन्धान अधि बढाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले बताए ।

उनले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड र चारजनासँग नेपाली नागरिकता रहेको बताए । तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी सीआइबीले अनुसन्धान गरिरहेको छ।

एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो। दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआइबीलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *