खेलकुद

चारदेशीय महिला टी-२० सिरिजमा नेपालको विजयी सुरूआत

हङकङमाथि सानदार जित

मलेसियामा जारी चार सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले विजयी सुरूआत गरेको छ। सीता रानामगरको सानदार बलिङ प्रदर्शनमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरूआत गरेको हो।

जितका लागि ८५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍याे। नेपालको जितमा सम्झना खड्का ३६ बलमा ५ चौकासहित ३६ रनमा नट आउट रहिन्। सीता रानामगर ८ बलमा ३ रनमा नटआउट रहिन्।

नेपालले ओपनर बिन्दु रावललाई दोस्रो बलमै शून्यमा गुमाएको थियो। डेब्यू खेल खेलेकी अर्की ओपनर पूजा महतो १८ बलमा १६ रन बनाउँदै आउट भइन्। उनी का यिंग चानको बलमा बोल्ड भएकी थिइन्।

इन्दु बर्मा १३ बलमा ९ र रुविना २० बलमा १ चौकासहित १० रनमा आउट भइन्। उसका लागि इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक/एक विकेट लिए।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भएको थियो। हङकङकी मध्यक्रमकी ब्याटर का यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन। उनीबाहेक अन्य कुनै पनि हङकङका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

हङकङले तेस्रो ओभरको पहिलो बलमै प्रमुख ब्याटर मारिको हिललाई ६ रनमा गुमाएको थियो। तीव्र गतिकी बलर कविता कुँवरको बलमा हिल सीताबाट क्याच हुन पुगिन्। सुरूआतमै हिलको विकेट गुम्नु हङकङलाई भारी परेको थियो।

अर्को ओभरमा हङकङले यासमिन दासवानीलाई ६ रनमै गुमायो। तीव्र गतिकी बलर पुजा महतोले उनलाई बोल्ड गरेकी थिइन्। एक समय ३.३ ओभरमा १३-२ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए। एक समय हङकङ १२.३ ओभरमा ५५-२ को अवस्थामा थियो।

सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराइन्। उनले ३३ बल खेलेकी थिइन्। १४ औं ओभरको दोस्रो बलमा का यिंगलाई रुविनाले बोल्ड आउट गरेपछि नेपाल खेलमा पूर्ण रूपमा हाबी बनेको थियो। त्यसपछि सीताले थप चार विकेट लिँदै हङकङलाई दयनीय अवस्थामा पुर्‍याइन्।

हङकङलाई सस्तैमा रोक्न स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन्। यो उनको महिला टी-२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो। सीता नेपाली महिला टी-२० आई क्रिकेटमा अञ्जली चन्द, नेरी थापा र अश्मिना कर्माचार्यपछि पाँच विकेट लिने चौथो बलर हुन्।

कविता कुँवर, पूजा महतो र रूबिना क्षेत्री बेलबासेले एक/एक विकेट लिए। इन्दु बर्माले २.१ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन्। नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ। शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ। पराजित भएमा तेस्रो स्थानका लागि खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर