न्याय

न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछु : प्रधानन्यायाधीश श्रेष्ठ

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय सम्पादन प्रक्रियालाई तीव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरू गर्ने बताएका छन्।

मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका उनले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो, छरितो र विश्वसनीय बनाउने बताए।

‘हामीलाई लागेको छ, जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अविलम्ब थाल्नुपर्ने जरूरी छ। जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वाभाविक नै हो। यहाँहरूको चासोलाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने, ‘र, म यहाँहरूलाई यो विश्वास दिलाउन चाहन्छु, म न्यायाधीश नियुक्तिको प्रक्रिया छिटोभन्दा छिटो अर्थात् औपचारिक-अनौपचारिक रूपमा प्रक्रिया भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्न सक्ने गरी लाग्दछु।’

त्यस्तै उनले सबैभन्दा पहिला पुराना मुद्दाहरूलाई फर्स्योट गरेर जाने नीति नै लिएको उल्लेख गरे। श्रेष्ठले न्यायपालिका सुधारका लागि कायममुकायम हुँदाखेरि नै केही कामको थालनी गरेको भन्दै कार्यगत अनुभवका आधारमा सबैको सहकार्यमा न्यायपालिकाको सुधारमा थप कार्य गरी न्याय क्षेत्रलाई सुधार गरेर जाने बताए।

जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिबद्धता छ। -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर