राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन्।

‘यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति पौडेलले भने, ‘यस प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन तथा राष्ट्रको प्रतिष्ठा एवं गरिमा बढाउन योगदान दिनेछ।’

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने बताए।

‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो। उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस्,’ राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिँदै भने।

पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ ।

पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतवीचको खेल भने श्रीलङ्मा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए । उनले भारत र पाकिस्तानसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै आफ्नो टोली मानसिक रूपमा तयार रहेकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर