नेपाली सेनाका कर्णेलसहित ५३८ जनालाई विभागीय कारबाही

नेपाली सेनाका एक जना महासेनानी (कर्णेल) सहित पाँच सय ३८ सैनिक अधिकारी र सकलदर्जाका कर्मचारीलाई विभागीय कारबाही भएको छ ।

सेनामा विभागीय कारबाहीमा परेकाहरूको एक वर्ष बढुवा रोक्का, शान्ति मिशन रोक्का र कमाण्ड जिम्मेवारी नपाउने व्यवस्था भएकाले विभागीय कारबाहीलाई महत्त्वपूर्ण दण्डका रूपमा लिइन्छ ।

सैनिक आचरण तथा आचारसंहिता उल्लंघन गरेको आरोपमा सैनिक मुख्यालयदेखि गणसम्मले उनीहरूलाई कारबाही गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले रक्षा मन्त्रालयमा बुझाएको सूचीअनुसार गत आर्थिक वर्षमा प्रमुख सेनानी दुई र आठ जना सेनानीउपर कारबाही भएको छ । यद्यपि सेनाले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

यस्तै सहसेनानी आठ, उपसेनानी दुई र एक जना प्रमुख सुवेदार तथा सात जना सुवेदारउपर कारबाही भएको छ । यस्तै १२ जना जमदारउपर कारबाही भएको छ ।

४४ हुद्दा, ९७ अमल्दार र १०२ प्युठसमेत विभागीय कारबाहीमा परेका छन् । यस्तै दुई सय सिपाहीलाई कारबाही भएको तथ्यांक रक्षा मन्त्रालयसँग छ ।

यस्तै सेनामा निलम्बनमा पर्नेहरूको संख्या यो आर्थिक वर्षमा बढेको तथ्यांकले देखाउँछ । उनीहरूलाई ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यानसम्बन्धी मुद्दा, करणी, मानव बेचबिखन तथा ओसारपसार, बहु विवाहलगायतका कसुरमा कारबाही भएको हो।

यसरी कारबाहीमा पर्नेको संख्या २०२ रहेको छ ।

जसमा ज्यानसम्बन्धी मुद्दामा ३६, सवारी ज्यानसम्बन्धी कसुरमा सात, मानव बेचबिखन तथा ओसारपसारमा एक, आखेटोपहार ओसारपसारमा सात, लागुऔषधसम्बन्धी मुद्दामा १०, बहुविवाहमा तीन, सरकारी छाप कीर्तेमा दुई, विद्युतीय कारोबारमा एक, चोरी तथा लुटपाटसम्बन्धी कसुरमा तीन जना निलम्बित भएका छन् ।

यस्तै गत आर्थिक वर्षमा ८७ जना सेना दुघर्टनामा परेका छन् । उनीहरू ड्युटीमा जाँदा-फर्किँदा, विपद् उद्धारमा खटिँदा, बाहिरी अभ्यासका क्रममा दुर्घटनामा परेका हुन् । घरबिदामा जाँदा-फर्किँदा ५० जना दुर्घटनामा परेका छन् ।

बाहिरी अभ्यासका क्रममा एक-एक जना घाइते भएको तथ्यांक छ । विपद् उद्धारका लागि खटिएका सैनिक आफैं घाइते भएका छन् । दुई आर्थिक वर्षमा क्रमशः दुई र तीन जना यस्ता दुर्घटनामा परेका छन् । साधारण ड्युटीका क्रममा २९ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर