इन्स्पेक्टर शैलेश्वरीको कमाण्डमा कपिलवस्तु प्रहरी

कपिलवस्तु प्रहरीको कमाण्ड महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सम्हालेकी छन्। जिल्लाकाे सुरक्षा कमाण्ड पहिलाे पटक महिला प्रहरीले सम्हालेकी हुन्। इन्स्पेक्टर शैलेश्वरी बोहराको कमाण्डमा केही दिनयता जिल्लाको सुरक्षा संयन्त्र परिचालित भइरहेको हो।

प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर बस्नेत र प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घले बिदामा बसेका कारण इन्स्पेक्टर बोहरा यतिबेला जिल्ला प्रहरीको निमित्त प्रमुख बनेकी हुन्।

बोहरा नेपाल प्रहरी संगठनभित्र अब्बल र कुशल प्रहरी अधिकृतका रूपमा परिचित छिन्। जिल्लाका सबै इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अस्थायी प्रहरी चौकीहरूमा शान्तिसुरक्षा चुस्तदुरूस्त पार्न इन्स्पेक्टर बोहरा सक्रियतापूवर्क लागिपरेकी छन्।

कुनै पनि अप्रिय घटना घट्न नदिन, चोरी-तस्करी नियन्त्रण गर्न, सामाजिक अपराध तथा अन्य भड्काउ खालका गतिविधि हुन नदिन मातहतका सबै प्रहरी युनिटहरूलाई उनले निर्देशन दिएकी छन्।

इन्स्पेक्टर बोहराले कमाण्ड सम्हालेको यो समयमा जिल्लामा फरार अपराधीहरू पक्राउ, लाखौं रूपैयाँको भन्सार छलेर ल्याएको मालसामान बरामदजस्ता उल्लेख्य उपलब्धिहरू हासिल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निमित्त कार्यालय प्रमुखको रूपमा जिल्लाको सुरक्षा संयन्त्रको कमाण्ड सम्हाल्न पाउँदा थप हौसला मिलेको र गौरव महसुस भएको बोहराले सुनाइन्।

‘संगठनले दिएको जिम्मेवारीलाई आफ्नो कला-कौशल र बल-बुद्धिले भ्याएसम्म राम्रो गरेर देखाउने हो, म त्यसैमा लागिपरेकी छु,’ इन्स्पेक्टर बोहराले भनिन्, ‘प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक केही दिन कार्यालयबाहिर रहनुभएका कारण मलाई यो जिम्मेवारी मिलेको हो। पाएको जिम्मेवारीलाई पूर्ण पालना गरी शान्ति सुव्यवस्थालाई चुस्तदुरूस्त बनाउनु मेरो पहिलो जिम्मेवारी तथा दायित्व हो।’

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी इन्स्पेक्टर बोहरा जिल्लाका राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम सर्वसाधारणका सामु समेत असल छवि र मित्रवत् व्यवहार भएकी प्रहरी अधिकृतको रूपमा चिनिन्छिन्।

आफ्ना समस्याहरू लिएर जिल्ला प्रहरी कार्यालय जाने जोकोहीलाई उनले नियम-कानूनको परिधिभित्र रही सहजीकरण गरेर उनीहरूको काम गर्ने गरेको कपिलवस्तु नगरपालिका-१ का वडाध्यक्ष जाहिद खाँले बताए। -ईसाझा न्यूजको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर