धरान घटनामा कांग्रेसले भन्यो- धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुँदैन

नेपाली कांग्रेसले केही दिनयता धरानमा भएको द्वन्द्वप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाले शनिवार एक विज्ञप्ति जारी गरी सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिलसमेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ ‘परापूर्वकालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं। नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन।’

नेपालीको भावना र चाहनाविपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र हुन पनि नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य-अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’

विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ-संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि कांग्रेसले अपिल गरेको छ।

धरानमा केही दिनअघि एक समुदायले सार्वजनिक रूपमै गोरू काटेर भोजभतेर गरेपछि त्यसको चर्को विरोध भइरहेको छ। विरोध प्रदर्शनका साथै झडपसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर सुनसरी प्रशासनले सो क्षेत्रमा शुक्रवार २४ घण्टे निषेधाज्ञा जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर