सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा आइतबार अन्तिम सुनुवाइ दाबी गरिएको छ।

न्यायाधीश पण्डित रहेको इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौं नम्बरमा परेको छ।

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ र उनकी आमाको समेत उमेर विवाद देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाइँसराइ गर्दा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेस गर्न आदेश दिएको थियो।

त्यससँगै क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्मदर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्मदर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध एक नाबालिगलाई गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दा परेको छ। लामिछानेविरूद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।

क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर