कांग्रेसको ‘पोलिसी ह्याकाथन’ मा छनोट भएका यी हुन् तीन अवधारणा

नेपाली कांग्रेसले नीति निर्माण तहमा युवाको एजेण्डा समेट्ने उद्देश्यले आयोजना गरेको ‘पोलिसी ह्याकाथन’ बाट तीन अवधारणा छनोट भएका छन्। शनिवार सम्पन्न ह्याकाथनको फाइनलबाट उत्कृष्ट तीन अवधारणा छनोट भएका हुन्।

प्रतियोगितामा अनलाइन आवेदनमार्फत अवधारणा पठाएका २२७ टोलीमध्येबाट सर्टलिस्टमा परेका १० अवधारणा फाइनलमा प्रस्तुत गरिएका थिए। तीमध्ये उत्कृष्ट तीन अवधारणा छनोट भएका हुन्।

छनोट हुनेमा दुई अर्थतन्त्र र एक जलवायुसम्बन्धी अवधारणा छन्। प्रतिस्पर्धामा मन्दीप सुवेदी, अमित खनाल र विप्लवी न्यौपानेले प्रस्तुत गरेको अर्थतन्त्रबारे अवधारणा प्रथम भएको छ।

सदीक्षा सिलवाल, स्वीकृति कुटाल र मिलनजंग कटुवालले प्रस्तुत गरेको अर्थतन्त्रबारेको अवधारणा दोस्रो भएको छ भने ऐश्वर्या श्रेष्ठ, सोनिया पहाडी, दीपेन्द्र अमात्य विजेनले प्रस्तुत गरेको जलवायु परिवर्तनसँग सम्बन्धित अवधारणा तेस्रो भएको छ।

शनिवार नै आयोजित विजेता घोषणा कार्यक्रममा पहिलो उत्कृष्ट अवधारणालाई तीन लाख, दोस्रोलाई एक लाख पचास हजार र तेस्रोलाई पचास हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमकोे समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट अवधारणालाई कांग्रेसले ग्रहण गरी नीति निर्माण तहमा समावेश गर्ने बताए। उनले ह्याकाथनबाट यी दुई विषयमा रहेका ‘पोलिसी ग्याप’ लाई युवाहरूले औंल्याएको बताए।

उनले जलवायु परिवर्तन विश्वकै जटिल समस्याको रूपमा रहेको भन्दै गिग इकोनोमीले अर्थतन्त्रको दायरा बढाउन भूमिका खेल्ने बताए।

२ देखि १० साउनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको कार्यक्रमअन्तर्गत युवालाई आकर्षित गर्न कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट) को अवसर पारेर ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गरेको हो।

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको वार्षिक कार्यक्रम क्यालेन्डरमा पोलिसी ह्याकाथन उल्लेख थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर