भारतको नेशनल डिफेन्स कलेजका शिक्षार्थी नेपालमा, प्रधानसेनापति शर्मासँग भेट

प्रधानसेनापति प्रभुराम शर्मा र भारतको नेशनल डिफेन्स कलेजका वरिष्ठ निर्देशक कर्मचारी एयर भाइस मार्शल मनिषकुमार गुप्ताबीच भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको थियो।

भारतीय नेशनल डिफेन्स कलेजका फ्याकल्टी तथा उक्त कलेजमा सञ्चालन भइरहेको ६३ औं नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरेबिया, बेलायत, ओमान र भारत) सम्मिलित २७ सदस्यीय भ्रमणदल एयर भाइस मार्शल गुप्ताको नेतृत्वमा पाँचदिने अध्ययन भ्रमणको क्रममा आइतवार नेपाल आएको हो।

सोमवार जंगी अड्डाको भ्रमणका क्रममा उक्त टोलीलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो। भ्रमणदलले नेपाली सेनाका केही इकाइहरूका साथै काठमाडौं, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरको सुरक्षा एवं प्रतिरक्षा तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहिआएको छ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर