नक्कली भुटानी शरणार्थी र सुन प्रकरण रोकिदैन्ः प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

राष्ट्रिय सभागृहमा मंगलबार बिहान आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए।

प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ।’

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन’, प्रधानमन्त्रीले भने,‘भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

उनले परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने बताउँदै यसमा गुणात्मक रूपान्तरण जरूरी रहेको बताए । उनले असफल भएको विकास मोडललाई हामीले सधै बोकेर हिँड्न नसक्ने र अर्को बजेटसम्म आउँदा नयाँ अर्थनीति र योजनाका साथ अगाडि जाने खुलाए ।

नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको उनको दाबी थियो । यसको नतिजा क्रमशः आउने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईहरूले जनताको बीचमा लैजानुस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर