आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको पहिलो जित

मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले मलेसियामाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरूआत गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बनेको छ ।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमा समेटियो ।

मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिंगमले ३९ बलको मामना गर्दै सर्वाधिक २८ रन बनाइन् । ओपनर एना हमिजा हसिमले २२ बलमा १४ र मास इलिसाले १४ बलमा १० रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ भने कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिँदा कप्तान रूविना क्षेत्री र अस्मिना कर्माचार्यले एक/एक विकेट लिए ।

बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले ५४ बलको सामना गरेर सर्वाधिक ३८ रनमा अविजित रहिन् । सुरूआती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरूआत गरेको अवस्थाबाट सीताले परिपक्व प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् । छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर