लेक लागेका तीन तीर्थयात्रीको सेनाको हेलिकोप्टरमार्फत उद्धार

बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ ।
लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पत्ति र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनीहरूको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी सिंहले बताए ।
‘अक्सिजन अभावका कारण अचेत अवस्थामा फेला पारेका कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उहाँकी धर्मपत्नी ५२ वर्षीया गङ्गादेवी बोहरालाई बिहीबार बिहान उद्धार गरिएको हो,’ उनले भने ।
सेनानी सिंहका अनुसार बडीमालिकाको दर्शन गरेर घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर घाइते हुनुभएकी जुम्लाको चन्द्रनाथ नगरपालिका-२ बस्ने ४६ की विनुदेवी बस्नेतको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
‘यसअघि अक्सिजन अभावका कारण बेहोस भएर ढलेको अवस्थामा फेला परेका अन्य तीन जनाको गत सोमबार उद्धार गरिएकामा दुईको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि घर फर्किनुभएको छ,’ सेनानी सिंहले भने ।
उनका अनुसार मृत्यु हुनेमा कालिकोटको पलाता गाउँपालिका-१ का धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका-१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर