बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको झिनो चुनौती नेपालले बिनाक्षति भेट्टाएको हो।

नेपालका लागि ओपनर सीता रानामगर र काजल कुँवरले ३२ रनको साझेदारी गरेपपछि नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा अलआउट हुुँदै ३१ रनमा समेटियो।

बहराइनलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले तीन विकेट झारिन्। त्यस्तै खुसी डंगोलले दुई विकेट, कविता कुवँर, पूजा महतो, रूविना क्षेत्री बेलवासेले समान एक-एक विकेट लिए ।

कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दीपिका इन्दु बर्माको बलमा बोल्डआउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो। उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो।

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समूह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर